एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड–१९ विरुद्ध लड्नका लागि विभिन्न उपायहरूको घोषणा गरेका छन्।
उनले गरेको पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीहरूले कोभिड विरुद्धको खोप लगाउनुपर्ने वा साप्ताहिक रूपमा परीक्षण गराउनुपर्ने हुन्छ।
अमेरिकामा कोभिड सङ्क्रमण बढी रहेका बेला राष्ट्रपति बाइडनबाट यस्तो घोषणा भएको हो। अमेरिकामा कोभिडका बिरामी बढेका कारण अस्पतालहरू भरिभराउ भएका छन्।
त्यहाँ हालसम्म ६ लाख ५० हजार भन्दा बढीले कोभिडका कारण ज्यान गुमाइसकेका छन्। बिहीवार ह्वाइट हाउसबाट गरिएको एक सम्बोधनका क्रममा बाइडनले १०० भन्दा बढी कर्मचारी रहेका सबै व्यवसायहरूमा अनिवार्य खोप लगाएको सुनिश्चित गर्न वा आफू कोभिड नेगेटिभ रहेको प्रमाण साप्ताहिक रूपमा दिने व्यवस्था लागु गराउन सरकारी निकायहरूलाई निर्देशन दिए।
उक्त निर्देशनले ८ करोड अमेरिकीहरूलाई प्रभावित पार्ने बताइएको छ। ‘यो स्वतन्त्रता वा व्यक्तिगत छनोटको बारेमा हैन, यो तपाईँको र तपाईँको वरपर रहेकाहरूलाई जोगाउनका लागि हो ।
६ बुँदे योजना सार्वजनिक गर्दै बाइडनले भने। सङ्घीय सरकारले उपलब्ध गराएको सुविधाको उपभोग गरिरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीहरूले पनि पछिल्ला नियमहरूको पालना गर्नुपर्ने छ।
तुलनात्मक रूपमा छिट्टै सर्न सक्ने डेल्टा भेरिअन्ट अमेरिकामा फैलिएका बेला थप अमेरिकीहरूलाई खोप लगाउनका लागि बाइडनले नयाँ योजनाहरू तय गरेका हुन।
बाइडनले खोप नलगाएका ८ करोड अमेरिकीहरू बारे निराशा व्यक्त गर्दै उनीहरूले अस्पतालहरूमा भिड बढाइरहेको र आर्थिक सुधारलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
उनले आफूहरूको धैर्य कमजोर हुँदै गएको बताउँदै सर्वसाधारणहरूलाई खोप लगाउन आग्रह गरे। बाइडनले परीक्षण गर्नका लागि प्रयोग गरिने सामाग्रीहरूको उत्पादन र वितरण पनि व्यापक रूपमा बढाइने वाचा गरेको "बिबिसी"ले जनाएको छ ।
"अफगानिस्तानबाट पहिलो यात्रु उडान"
अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि पहिलोपटक काबुलबाट अन्तर्राष्ट्रिय यात्रुसहितको विमान उडेको छ | कतार एअरवेजको चार्टर्ड फ्लाइट बिहीबार कतारको राजधानी दोहामा अवतरण गरेको हो । दोस्रो उडान आज हुँदैछ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालैको कतार भ्रमणका बेला अफगानिस्तानबाट हुने उद्धार प्रयासमा सहयोग गर्न आग्रह गरेका थिए |
यानका बेला अमेरिकी सैनिकलाई सहयोग गरेका सयौँ अफगानी गत महिना अमेरिकी सैनिकको हवाई उद्धारका बेला काबुलबाट बाहिर जान पाएका थिएनन् | बिहीबार दोहा अवतरण भएको विमानमा कम्तीमा ११३ जना यात्रु रहेका थिए ।
बेलायती विदेशमन्त्री डोमिनिक राबले १३ जना ब्रिटिस नागरिक दोहा पुगेको बताएका छन् | अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य निकालेर बिहीबार भएको उडानमा आफ्ना नागरिक पनि रहेको पुष्टि गरेको छ ।
यसका लागि अमेरिकाले कतारलाई धन्यवादसमेत दिएको छ । अमेरिकी नागरिकहरुलाई अफगानिस्तानबाट बाहिर जान दिन तालिबानहरुले सहयोग गरिरहेको ह्वाइट हाउसले जनाएको छ |
क्यानडाले पनि आफ्ना ४३ जना नागरिक विमानमा रहेको पुष्टि गरेको छ । त्यस्तै सो विमानमा नेदरल्याण्ड्सका १३ जना नागरिक सवार थिए । गत अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको तालिबानले हाल अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको छ ।
अगस्ट ३१ सम्म अमेरिकी सैनिकको नियन्त्रणमा रहेको काबुल विमानस्थल हाल तालिबानको कब्जामा रहेको जनाएको छ । "बिबिसी"