नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ ।
बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।
पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ ।
"पर्सामा एकीकृत समाजवादीको १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन"
बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको घोषणा गरिएको छ । शनिबार वीरगञ्जमा भएको पर्सा जिल्ला भेलाबाट अध्यक्षमा बालगोपाल थापा र सचिवमा विक्रम चौरसियालाई चयन गरिएको हो ।
अध्यक्ष थापाको नेतृत्वमै यसअघि नेकपा एमाले पर्साको जिल्ला समानान्तर कमिटी बनेको थियो । जिल्ला भेलाबाट जिल्ला सचिवालय समेत चयन गरिएको नेकपा एसका जिल्ला सदस्य बृजलाल पासवानले जानकारी दिए ।
पासवानका अनुसार जिल्ला सचिवालयमा अध्यक्ष बालगोपाल थापा, सचिव विक्रम चौरसिया तथा सदस्यहरूमा प्रभुनाथप्रसाद कुर्मी, वृजप्रसाद यादव, मनोज चौधरी, अरुण यादव, राघव साह, बृजलाल पासवन, मंजर आलम, राजेन्द्र चौधरी, योगकुमारी तामाङ, रविन्द्र कार्की, सत्यनारायण दास, भोला महतो, सुवेदार यादव, सन्तोष सिंह, गंगाधर महतो, पटवारी बैठा र मोहन यादव रहेका छन् ।
भेलामा पार्टी केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।