नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले)को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।
नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिए ।
"ताप्लेजुङको अध्यक्षमा लामा"
नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।
कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहनुभएको छ ।
एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो । जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए ।
"हुम्लामा नेता शर्माका नेतृत्वमा १०१ सदस्यीय कमिटी"
नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माका अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
उनी तत्कालीन एमालेका जिल्ला सचिव थिए । शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए ।
"रुकुम पूर्वको अध्यक्षमा भिउमान घर्ती"
नेकपा (एकीकृत समाजवादी) पार्टी रुकुम पूर्वको अध्यक्षमा भिउमान घर्तीलाई चयन गरिएको छ । जिल्ला कमिटीको पहिलो बैठकले घर्तीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि उनी नेकपा एमाले जिल्ला कमिटी सचिव थिए । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी स्थापना भएपछि बसेको पहिलो बैठकबाट घर्तीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
घर्तीको अध्यक्षतामा १ सय ५ सदस्सीय जिल्ला कमिटि गठन गरिएको छ । जसको सचिवमा भुवनेश्वर उपाध्याय रहेका छन् । जिल्ला भेला असोजमा गर्ने तयारी भएको छ ।
बैठकबाट २५ सदस्यीय जिल्ला कमिटी सचिवालय पनि गठन गरिएको छ । बैठकमा कार्यविभाजन, कार्यालय सञ्चालन, आर्थिक व्यवस्थापन, गाउँपालिकामा संगठन विस्तार गर्ने जिम्मेवारी जिल्ला कमिटी सचिवालयलाई दिइएको छ ।