Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दश बुँदे सहमति कार्यान्वयन नहुदा तनावमा भिम रावल

दश बुँदे सहमति कार्यान्वयन नहुदा तनावमा भिम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • ०९:४५:४६ बजे
  • 1.1K
    SHARES
  • दश बुँदे सहमति कार्यान्वयन नहुदा तनावमा भिम रावल

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए ।.

    images

    उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी थियो ।

    उनीहरू दुवैले इन्चार्ज दाबी नछाडेपछि विवाद बढ्दै गएको थियो । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमति कार्यान्वयन गर्दा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावल नै हो ।

    उनले सोहीअनुसार आफू इन्चार्ज भएको दाबी गर्दै आएका थिए । तर, पार्टी विभाजनअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर रूपमा पार्टी गतिविधि सञ्चालन गर्दा नेपाल पक्षमा उभिएपछि अध्यक्ष ओलीले रावलको जिम्मेवारी खोसेर इन्चार्जको जिम्मा भट्टलाई दिएका थिए । भट्ट गत २३ फागुनपछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन् ।

    त्यसैले उनले पनि इन्चार्जको दाबी नछाडेका हुन् । विवाद निरुपणका लागि भएको छलफलमा सुदूरपश्चिम इन्चार्ज आफैंले पाउने रावलको अपेक्षा थियो । १० बुँदे सहमतिमा तलमाथि हुँदैन भन्ने उनको बुझाइ थियो । तर, अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको भन्दै मुख खोले । रावललाई भने उपाध्यक्ष भएर काम गर्न निर्देशन दिए ।

    अध्यक्ष ओलीले अहिलेको पार्टी संरचनामा कुनै फेरबदल नगरिएको बताउँदै १० बुँदेमा अल्झिएर नबस्नसमेत निर्देशन दिए । ‘२ जेठ २०७५ जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन, यसमा प्रस्ट हुनुस् । १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अवस्था छैन,’ छलफलमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष हो, उपाध्यक्ष र १० बुँदे सहमतिको सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।

    सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न ओलीले रावल, भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएका छन् । केन्द्रीय सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष थापाले आफूसहित तीन जना नेताले सुदूरपश्चिममा सहजीकरणको जिम्मेवारी अध्यक्षबाट पाएको बताए ।

    सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज लेखराजजी र अध्यक्ष म नै हो । उपाध्यक्ष भएको नाताले उहाँ (रावल) ले समेत गरी तीन जनाले सहजीकरणको जिम्मेवारी पाएका छौं,’ थापाले भने । २ जेठमा फर्किने सहमति भए पनि यसबीचमा विभिन्न नेताहरूको जिम्मेवारी फेरबदल भइसकेकाले आउने केन्द्रीय कमिटी बैठकले पुनः अर्को जिम्मेवारी बाँडफाँट नगर्दासम्म अहिलेकै जिम्मेवारीअनुसार अगाडि बढ्ने थापाको भनाइ थियो ।

    सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्युँताएपछि पार्टीभित्र विवाद चर्किएको थियो । त्यसपछि २७ असारमा ओली र माधवकुमार नेपाल समूहबाट पाँच/पाँच जना नेता सहभागी कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव गर्दै सहमति गरेका थिए ।

    ओली समूहबाट नेम्वाङ र नेपाल समूहबाट रावल संयोजक रहेको सो कार्यदलले गरेको प्रस्तावमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

    तर, नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि रावलसहितका नेताहरू ओली समूहमै फर्किए । १० बुँदे सहमति कार्यान्वयन गर्ने वाचापछि नेपाललाईै साथ दिँदै आएका रावलसहितका नेताहरू एमालेमै फर्किएका थिए । 

    अहिले ओली आफैंले त्यो सहमति कार्यान्वयन नगर्दा दोस्रो पुस्ताका नेता जिम्मेवारीविहीन हुनुका साथै अलमलमा परेका छन् । "समाचार आजको राजधानी दैनिक"मा सुभाष साहले लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # भिम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology