मोरङ । नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन ।
आज सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।
एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेता चयन गरेको हो ।
राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ ।
प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।