पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो ।
यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
पुलको प्रारम्भिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेदेखिलागत इस्टिमेट तयार गर्नेसम्मका काम एक वर्षमै सकिए । सडक बोर्डले ठेक्का आह्वान गर्ने बेलासम्मका काम द्रुतमार्गमा नै सम्पन्न भए ।
सो पुल निर्माणका लागि विसं २०७२ को अन्त्यतिर बोलपत्र आह्वान भयो । न्यूनतम र आधारभूत मूल्यमा काम गर्न तयार भएको बोलपत्र पेश गरेका तीन कम्पनीले पुल निर्माणको जिम्मेवारी पाए ।
विसं २०७३ असोज ९ गते रसुवा÷श्री गीता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरियो । पुल निर्माणको आवश्यक प्रक्रिया द्रुतगतिमा तयार भएपनि पाँच वर्षसम्म निर्माणाधीन आवस्थामा नै छ ।
जैमिनीघाटमा निर्माणाधीन पुलको काम थालेको पाँच वर्ष वितिसक्दासमेत ३५ प्रतिशत काम मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङको तथ्याङ्क छ । ‘‘पुल छिटो बनाउने भनेर प्रारम्भिक काम छिटो गर्न लगायौं, तर समस्या देखाएर पुल बनिरहेको छैन’’ गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले भन्नुभयो, “बीचमा आएका समस्या सहजीकरण गरियो ।’’ पुलको बागलुङ र पर्वत दुबैतर्फ पिल्लर बनाउने काम मात्रै सकिएको छ ।
पिलरका लागि आवश्यक संरचना निर्माण र पुलको सुरक्षाका लागि लगाइने पर्खालको समेत केही काम भएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले बताउनुभयो । पटकपटक म्याद थप गरेर पुल निर्माणका लागि निर्माण व्यवसायीलाई प्रोत्साहित गरेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
पुलको इस्टिमेट नै परिवर्तन गर्नुपरेकाले निर्माण व्यवसायीले समयमा काम गर्न नपाएको सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताउनुभयो । ‘
पहिले नर्मल फाउण्डेसनको इस्टिमेट थियो, पछि पाइल फाउण्डेसन गर्ने भनेर परिवर्तन गर्दा एक वर्ष फाइल अल्झियो’’, उहाँले भन्नुभयो, ‘‘पाइल फाउण्डेसनका लागि आवश्यक मेसिन पु¥याउन बाटोको अभाव भएका कारण लामो समय काम भएन्, निर्माण व्यवसायी सम्झौता तोड्ने मानसिकतामा थिए, हामीले प्रोत्साहित गरेर काम गर्न लगाएका छौं ।
असजिलो काम सकिएकाले अब भने पुल बन्ने आशा पलाएको प्रमुख लामिछानेले बताउनुभयो । रु १३ करोड १२ लाख ४९ हजार ३६४ मा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो ।
पहिले पाइल फाउण्डेसन निर्माणका लागि मेसिन त्यहाँ पु¥याउन सकेनौं, मेनुअल फाउण्डेसन पटकपटक भत्कियो’’, निर्माण व्यवसायी कोइरालाले भन्नुभयो, ‘‘पछि लकडाउनमा प्रशासनले काम गर्न दिएन, कामदार पठाएपछि कसरी काम होस् ।’’ कोइरालाले आउँदो असारसम्म पुलको बाँकी काम सकिने बताउनुभयो ।
अब समस्या नरहेकाले वर्षा रोकिएपछि धमाधम काम गर्ने उहाँको भनाइ छ । समयमा पुल नबनेका कारण भदौ १७ देखि एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् ।
कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीयवासी बताउँछन् । पुल नबनेपछि स्थानीयवासी र सरोकारवाला निकै आक्रोशित छन् ।
गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जाहुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिकाहुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो, यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ ।