पोखरा । कास्कीमा असोज १ गतेदेखि साढे ४ महिनादेखिको निषेधाज्ञा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधवार आदेश जारी गर्दै वैशाख १५ गतेदेखिको निषेधाज्ञा हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमद्वारा जारी जादेशमा भनिएको छ, ‘डीसीएमसीको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम २०७८ असोज १ गते बिहान ५ गतेदेखि अर्को आदेश जारी नभएसम्म कास्की जिल्लाभर लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ ।’
जसअनुसार विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरू शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालयद्वारा प्रकाशित कोभिड–१९ संक्रमणको अवस्थामा शैक्षिक संस्था सञ्चालन गर्दा अपनाउनुपर्ने कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिने छ ।
होटल तथा रेस्टुरेन्टहरू पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाइ बेलुका साढे ११ बजेसम्म सञ्चालन गर्न सकिने, नाँचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे १ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
संक्रमण दर बढ्दै गए जुनसुकै समयमा पनि थप आदेश गर्न सकिनेप्रति सचेत गराइएको छ ।
