नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् ।
बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् ।
सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ । उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे ।
एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, ओलीले सम्बोधनको सुरुमै भने, ‘एमालेको भूमिका मात्रै परिवर्तन भयो ।
हामी सरकारमा थियौँ, प्रतिपक्षमा गयौँ ।’ अध्यक्ष ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए । उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ?
माधव नेपाल के फुटाउनलाई आवश्यक छ ? उनले लामो समय सँगै काम गरेकाले केही लोभ लागेको भएपनि लोभ छोड्न आग्रह गरे ।
"दश बुँदे सहमतिबाट पछि हट्दैन पोखरेल"
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पारेका हुन् ।
“संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन शक्ति खोजेका हौं । पार्टीभित्रको सुदृढ एकतालाई ध्यान दिन जरुरी छ । पार्टीको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।
गुटबन्दीमा लागेर पार्टी कमजोर बनाउने, अनास्था फैलाउने, गुटगत गतिविधि स्वीकार्य छैन । एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो । प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि हट्दैन । सुझाव कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो,” उनले भने ।
पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गरे । “यसलाई पोलिटिकल सेन्समा बुझ्न जरुरी छ । कानुनी रुपमा पनि जरुरी छ ।
आजको एमाले २ जेठमात्र होइन एकीकृत, एकता प्रक्रियासहितको एमाले हो,” उनले भने, “२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ ।