सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि अध्यक्ष नेपालले आउँदो साताभित्र मन्त्रिपरिषदुले पूर्णता पाउने बताएका हुन् ।
यही असोज ४ गते संसद् बैठक र असोज ५ गते आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने उनको भनाई छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेकपा (एमाले)ले कारबाही गरेका नेपालसहितका १४ सांसदको मुद्दा अझै अदालतमा विचाराधीन छ ।
एकीकृत समाजवादीकै नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट अदालतबाट फैसला नभइसकेकाले पनि मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवा ढुक्क हुन नसकेको बताउँछन् । नेकपा (एस)का नेता खतिवडाका अनुसार पार्टीबाट मन्त्री बन्नका लागि मापदण्ड बनिसकेको छ ।
सबै प्रदेशबाट समेटेर मन्त्री बनाइने उनको भनाई छ । दुई–तीनपटक सांसद भइसकेकाहरू स्वतः मन्त्री बन्नेछन् । यस्तै मन्त्री बन्ने विषयमा पार्टीभित्र विवाद पनि देखिएको बुझिन्छ । केही सांसदहरूलाई मनाउने कोसिस भइरहेको एक नेताको भनाई छ ।
स्रोतका अनुसार नेकपा एसबाट मन्त्रीका दाबेदार आठ/नौजना छन् तर भागमा जम्मा पाँच/छ मन्त्रालय रहेको छ । “पद व्यवस्थापनका लागि मनाउने काम भइरहेको छ”, एक नेताले भने । पार्टीको मापदण्डमा सांसदहरू भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लोपटक नेपाललाई साथ दिएकाले प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसन) पनि मन्त्री बन्ने ‘लिस्ट’मा छन् ।
आले र श्रेष्ठ मन्त्री नभए उनीहरूले सिफारिस गरेका सांसद मन्त्री बन्ने ती नेताको भनाई छ । सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने निश्चित भइसकेको छैन । स्रोतका अनुसार मन्त्री बन्नेको नेतृत्व वेदुराम भुसाल या मुकुन्द न्यौपानेमध्ये एकजनाले गर्ने सम्भावना रहेको छ ।