नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा हिमाल थापा चयन भएका छन् । नेकपा एमाले ओली समूहबाट विद्रोह गरी समाजवादीमा प्रवेश गरेका थापालाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।
समाजवादीले विद्यार्थी नेता श्रीराम महतलाई भने अध्यक्षको जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएलगत्तै अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरे । अब सच्चा एमाले पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी बनाउँदै छौं, छिटै जनताले त्यो महशुस गर्नुहुनेछ ।
उनी नेकपा एमालेमा रहँदा अनेरास्ववियूका जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
केही दिनअघि गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टले गुल्मीबाट माधव नेपाल नेतृत्वको पार्टीमा जाने एमाले कार्यकर्ता कोही पनि नरहेको दाबी गरेका थिए ।
"एकीकृत समाजवादीका दुई मन्त्रीले लिए सपथ"
सुदूर पश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजबादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् । शु्क्रबार साझ प्रदेश प्रमुख गङ्गा प्रसास यादवले अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएक हुन् ।
उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए ।
उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।
विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका थिए ।