पोखरा । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको हो ।
उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नुभएको छ ।
मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गरेका सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ।
यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।