अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ ।
पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् ।
यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकमा पार्टीको राजनीतिक, सांगठनिक तथा वैचारिक कार्यदिशाको विषयले प्रवेश पाएको छ ।
बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल सुरु भएको छ । केही समयपश्चात् एमालेले १०औं महाधिवेशन गर्दै छ । १०औं महाधिवेशन अघि एमालेले छुटै विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार विधान महाधिवेशन अघि स्थायी कमिटी, केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरेर विस्तृत छलफलका लागि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ ।
विधान महाधिवेशनमा विधान पारित गरेपछि सोहीअनुसार १०औं महाधिवेशनमा नेतृत्वको चयन गरिनेछ ।" यो खबर आजको राजधानी दैनिकमा छापिएको छ" ।