नेकपा (एकीकृत समाजवादी) ले "केन्द्रीय कमिटी"लाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आज पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक मंगलबार क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बोलाइएको केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन् ।
नेकपा एमालेबाट छुट्टिएपछि नेकपा (एस) को पहिलो केन्द्रीय कमिटी बैठक बस्न थालेको हो । उनका अनुसार दुवै बैठक पार्टीको सांगठनिक एकतामा केन्द्रित हुनेछन् ।
स्थायी कमिटीले पारित गरेका प्रस्तावहरुलाई केन्द्रीय कमिटीमा पेस गरिनेछ । उनले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार र ७७ जिल्लामा इन्चार्ज तोकेर केन्द्रीय कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्ने बताइन् ।
त्यस्तै, बैठकले सातवटै प्रदेशमा प्रदेश कमिटी निर्माण गर्दै प्रदेश अध्यक्षसमेत बनाउने एजेण्डा छ । नेकपा (एस) मा २५१ केन्द्रीय कमिटी बनाउने भनिएकामा अहिले ११५ जना रहेका छन् ।
१३६ जना केन्द्रीय सदस्य मनोनीत गरेर कमिटीलाई पूर्णता दिइने बताइएको छ । यसैगरी बैठकले आगामी २० असोजमा हुने राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रस्तावमाथि छलफल गर्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।
उनका अनुसार बैठकमा पार्टीको तीन महिने सांगठनिक कार्ययोजना बनाउने एजेण्डासमेत तय भएको छ ।