नेपालमा अबको १० वर्षभित्र पेट्रोलियम पदार्थ र एलपी ग्यासलाई विस्थापन गर्न सकिने विज्ञहरुले बताएका छन् ।
काठमाडौँ विश्वविद्यालयको खोज अनुसन्धान र नेपाल आयल निगमको सहयोगमा ‘ग्रीन हाइड्रोजन’ उत्पादन गर्ने संभावनाको विषयमा बहसमा विज्ञहरुले नेपालको हाइड्रोजन उत्पादनको ठूलो संभावना रहेको बताएका हुन् ।
हाइड्रोजन उत्पादनको विषयमा विभिन्न देशले नीति बनाएर अगाडि बढिसकेको छ । तर, नेपालमा भने हाइड्रोजन उत्पादनको विषयमा कुनै पनि नीति नियम बनाएको छैन ।
विज्ञहरुका अनुसार २०२५ सम्ममा नर्वेमा नयाँ पेट्रोल र डिजेल कार बिक्री बन्द गर्ने योजना रहेको छ । त्यस्तै बेलायतले २०२५ पछि आफ्नो देशमा कोइला प्रयोग गर्न नपाउने कानुन ल्याएको छ ।
अमेरिका, चीन, बेलायतलगायतको देशले पेट्रोलियम पदार्थको उत्पादन र प्रयोगलाई शून्यमा झार्ने योजना बनाइरहेको छ । भारतमासमेत हाइड्रोजनबाट चल्ने सवारीको सुरुवात भएको छ ।
अन्य देशहरुले हाइड्रोजन उत्पादनमा नीति बनाएर लागि रहेको अवस्थामा नेपालले पनि सुरु गर्नुपर्ने विज्ञहरुले बताएका छन् । नेपाल जलविद्युतमा धनी देश भएकाले यहिबाट धेरै हाइड्रोजन निकाल्न सकिने विज्ञहरुको भनाई छ ।
ऊर्जाको स्रोतबाट पानीलाई वैज्ञानिक विधि अपनाएर टुक्राउँदा हाइड्रोजन ग्यास निस्किन्छ । नेपालमा दैनिक रातिको समयमा खेर गएको बिजुलीलाई प्रयोग गरेर हाइड्रोजन निकाल्न मिल्छ ।
फाल्नुपर्ने बिजुलीलाई हाइड्रोजनमा रुपान्तरण गर्ने हो भने प्रतिकजी एक डलरसम्ममा उत्पादन गर्न सकिने विज्ञहरुले बताएका छन् । यसरी उत्पादन भएको हाइड्रोजन विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने हुन्छ ।
अहिले विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिकेजी ५ डलर तोकिएको छ । १ किलोग्राम हाइड्रोजनबाट ५० युनिट बिजुली निकाल्न सकिन्छ ।
२ किलो हाइड्रोजन सिलिन्डरमा भर्ने हो भने त्यो १ सय युनिट बराबरको बिजुली हुन्छ । १ केजी बराबर करिब ८० किलोमिटरसम्म सवारी चल्न सक्छ ।