माओवादीलाई बास्कोटाको आरोप : माओवादीले कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याए नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् ।
पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लगानीमा स्रोत देखाउनु नपर्ने व्यवस्था ल्याएर कालोधनलाई सेतो बनाउने प्रयास भएको बताए । ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ ।
यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुपर्यो,’ उनले भने, ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?’ उनले सबैसँग चन्दा बटुलेर अकुत सम्पत्ति कमाएको आरोप पनि लगाए । ‘किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो ।
हिजो माष्टरले तलब बुझ्न पाएनन् । जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो,’ बास्कोटाले भने, ‘आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको श्रोत देखाउनु नपर्ने ? केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ ?’ यस्तो व्यवस्थाले देश नै कालोसूचीमा पर्न सक्ने भन्दै उनले विरोध जनाए ।
एमसीसी विवाद माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको उनको आरोप छ । ‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो । सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन् ।
वैदेशिक सहायता मजाकको कुरा हो ?,’ उनी भन्छन्, ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं । रोकेको सभामुखले होइन ? कुनै पनि देशसँग पूँजी र प्रविधि सहयोग लिन सकिन्छ । तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन ।’ एमाले विभाजन नभएको दाबी गर्दै उनले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाए ।
‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ । एमालेबाट केही मान्छे गए, हामीले काँचुली फेर्यौं,’ उनले भने, ‘कसैलाई एमालेको नाम सुन्दा नाक छोप्नुपर्ने भएको छ रे ।
माधव नेपाल त्यसो भए माधव नेपाल अवैध सन्तान हुन् ? आफैँलाई जन्माएको बाउआमा नचिन्ने कुपुत्र हुन् ?’ उनले संसद अवरोध कायम रहने पनि स्पष्ट पारे । पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले मिडियाको घाँटी थिच्नेगरी कुनै पनि कानुन स्वीकार्य नभएको सुनाए ।
“मिडिया बिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन,’ उनले भने, ‘तर, मिडिया पनि पाठकको कठघरामा उभिनुपर्छ । आफैँ करेक्सन हुनुपर्छ ।’ प्रदेशका मिडिया विधेयकहरु सैद्धान्तिक हिसाबले पास नहुने उनको भनाइ थियो ।