एजेन्सी । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या छ महिना पछिकै सबैभन्दा कम भएको छ ।
सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख एक हजार ९ सय ८९ पुगेको छ ।
यो संख्या १ सय ८६ दिनपछिकै सबैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा सक्रिय संक्रमितहरुको संख्या पछिल्लो समय लगातार घट्दै गएको छ ।
दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाहरुको संख्या बढी हुदै गएकाले सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको हो ।
पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९ सय ६४ जना नयाँ संक्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सोही अवधिमा ३४ हजार १ सय ६७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७ सय ६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३ सय ८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।