Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीको महासचिवमा ६ जनाको दाबेदार,को होला महासचिव ?

एकीकृत समाजवादीको महासचिवमा ६ जनाको दाबेदार,को होला महासचिव ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७८ बुधवार • १९:१९:२८ बजे
  • 2.8K
    SHARES
  • एकीकृत समाजवादीको महासचिवमा ६  जनाको दाबेदार,को होला महासचिव ?

    नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकले महासचिव टुंगो लगाउने गरी छलफल अगाडि बढाएको छ । मंगलबारदेखि शुरु भएको प्रथम केन्द्रीय कमिटी बैठकमा महासचिव टुंगो लगाउने गरी छलफल भएको छ ।

    images

    ‘महासचिव टुंगो लगाउनेबारे आज पनि छलफल भयो । तर टुंगिएको छैन,’ केन्द्रीय सदस्य राजेन्द्र राईले भने । उनका अनुसार जारी बैठकबाटै महासचिव टुंगो लगाएर जाने तयारी छ ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको एकीकृत समाजवादी गत २ भदौमा गठन भएको छ । तर महासचिव लगायत पदाधिकारी टुंगिन सकेको छैन ।

    ‘राष्ट्रिय सम्मेलनले पार्टीको संरचना टुंगो लगाउने छ । तर त्यसअघि महासचिव चाहिं बनाऔं भन्ने हो,’ प्रवक्ता जगनाथ खतिवडाले भने । यसअघि नै महासचिव टुंगो लगाउने तयारी एकीकृत समाजवादीमा थियो । तर महासचिवका दाबेदार धेरै भएपछि टुंगो लाग्न सकेको छैन ।

    महासचिवका लागि वेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, डा. विजय पौडेल लगायतले दाबी गरेका छन् ।

    ‘अनुभवी नेतालाई महासचिव बनाउने कि युवालाई भन्ने बहस पनि भइरहेको छ,’ एक नेताले भने । दाबेदारहरुमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको ती नेताले बताए । भुसाल लामो समयदेखि अध्यक्ष नेपाललाई साथ दिँदै आएका नेता हुन् ।

    पञ्चायतकालमा १४ वर्ष जेल बसेका भुसालले महासचिवको दाबी छाडेका छैनन् । तर एकीकृत समाजवादी राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी पाइसकेका भुसाल स्थायी कमिटीमा छन् । भुसालले जिम्मेवारी पाइसकेका पाण्डेलाई महासचिव बनाउनुपर्छ भन्ने मत बलियो छ ।

    भूगोल र राष्ट्रिय राजनीतिमा पकड भएका नेता भएकाले महासचिव पाउनुपर्ने पाण्डेको दाबी छ । उनी नेकपा एमालेको नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षका उम्मेदवार थिए । त्यसबेला महासचिवका उम्मेदवार रहेका सुरेन्द्र पाण्डेका दाजु समेत रहेकालाई पाण्डेको दाबेदारी बलियो मानिएको छ ।

    सुरेन्द्र पाण्डे भने दश बुँदे सहमति गरी एमालेमै बसेका छन् । मुकुन्द न्यौपाने नेकपा एमालेका संस्थापक नेता समेत हुन् । २०३२ सालमा गठन भएको कोर्डिनेसन केन्द्र (कोके)का आठ संस्थापक केन्द्रीय नेतामध्ये न्यौपाने पनि एक हुन् । उनले पनि महासचिवमा दाबी गरेका छन् ।

    यी तीन जनाबाहेक तेस्रो पुस्ता भनेर मानिने नेताहरुले पनि महासचिव दाबी गरेका छन् । डा. विजय पौडेल, गंगालाल तुलाधार, प्रकाश ज्वाला लगायतले पार्टीको आकर्षण बढाउन युवाले महासचिवको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् । तुलाधार र ज्वाला माधव नेपाल निकट रहेर राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् ।

    गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा तुलाधरलाई अध्यक्ष नेपालले कार्यालय सचिवको जिम्मेवारी दिएका थिए ।

    माधव नेपालतिर उभिएकै कारण प्रकाश ज्वालाले प्रदेशसभा सदस्य र मन्त्री पद गुमाएका थिए । कर्णाली प्रदेशमा फ्लोर क्रस हुँदा ज्वालाको सांसद पद गएको थियो भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन मन्त्री छाडेका थिए । युवा नेताहरुमध्ये डा. विजय पौडेलले पनि महासचिवमा सशक्त दाबी गरेका छन् ।

    युवा र अध्ययनशीललाई पार्टीमा आकर्षित गर्न आफू महासचिव हुनुपर्ने उनको दाबी छ । एमाले वृत्तमा बलियो प्रभाव राख्ने मोदनाथ प्रश्रितको लिगेसी समेत पौडेलले बोक्छन् ।"अनलाइनखबरबाट सभार"

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology