नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको छ । उनीसँगै जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको बताइएको छ ।
बिहीबार बिहान एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकले पदाधिकारी चयन गरेको हो ।
अब यी नामलाई जारी केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ ।
त्यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् भने महासचिवमा डा.बेदुराम भुसाल र उपमहासचिवमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।वरिष्ठ नेतामा झलनाथ खनाल छन् ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।
‘सचिवालय बैठकले महासचिवमा डा. भुसाललाई चयन गर्ने सहमति जुटेको छ, अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिन्छ,एक नेताले भने ।
महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।