पोखरा । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले सरकार र पोखरास्थित मणिपाल मेडिकल कलेजबीच भएको सम्झौता मगाउने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकार र मेडिकल गुप्रबीच भएको सम्झौता समितिलाई उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको हो ।
समितिले सम्झौता अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
त्यसअघि, बैठकमा सांसदहरूले मेडिकल कलेज किनबेच भएको विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए ।
सांसद खगराज अधिकारीले सम्झौताको प्रति मगाएर समितिले अध्ययन गर्नुपर्ने बताए । उनले मणिपाललाई सेयर बेच्ने अधिकार नरहेको भन्दै यस विषयमा आएका समाचारहरूका बारेमा सरकारले तथ्य सार्वजनिक गर्नुपर्ने उल्लेख गरे ।
सांसद मानबहादुर विश्वकर्माले मणिपाल समूहले चलाउन नसक्ने भए मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे । उनले सरकारसँग भएको सम्झौताका बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताए ।
बैठकमा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले मेडिकल कलेज बिक्री भएको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।
उनले ४९ वर्षका लागि भएको सम्झौतामा विदेशी लगानीमा सञ्चालित मेडिकल कलेज भएको उल्लेख गरिएको र अहिले पनि कायम रहेको जिकिर गरे ।