काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाज काठमाण्डौमै फर्केर सहज अवतरण हुन सफल भएको छ ।
विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि जहाज काठमाडौंमा फर्कियो । बुद्ध एयरको एएनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए ।
४ जना क्रु मेम्बर जहाजमा सवार थिए । आकाशमा २ घण्टा फन्को मारिरहँदा यात्रुहरु चिन्तित थिए । आकाशमा तनावपूर्ण २ घण्टा ५ मिनेट फन्को मारेपछि विमान अवतरण गरिएको हो । यात्रुहरुलाई काउन्सिलिङ गरेर गन्तव्यमा पठाइएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए । विराटनगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थियो ।
विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो । जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौंंमा सुरक्षित अवतरण गराएका थिए ।
जहाज अवतरण गराउन सबै सुरक्षाका व्यवस्था गरिएको थियो । काठमाडौं विमानस्थलमा फ्युल बर्न गराएर फोम ओछ्याएर फोर्स ल्याण्डिङको तयारी गरिएको थियो ।
दमकल र फायर फाइटर तयारी अवस्थामा थिए । एम्बुलेन्स पनि तयारी हालतमा राखिएको थियो । तर, चक्का खुलेपछि विमान सामान्य तरिकाले १० बजेर ३७ मिनेटमा ल्याण्ड गरिएको हो ।
पाङ्ग्रा निस्केको पुष्टि भएपछि सफलतापूर्वक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रतापबावु तिवारीले बताएका छन् ।