एजेन्सी । ब्रिटेनमा इन्धन अभाव भएको छ । तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै त्यहाँ तेल लिने सवारी साधानहरुको लामो लाइन लागेको छ ।
तेल ढुवानीमा ट्यांकर चालकहरुको अभावका कारण ब्रिटेनमा इन्धन अभाव देखिएको हो । अवस्थालाई सहज बनाउन अहिले सेनालाई तयारी अवस्थामा राखिएको छ।
सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ। ब्रिटेनका व्यापारमन्त्री क्वासी कोर्टनले यूकेसँग पर्याप्त आपूर्ति रहेको बताउँदै यो कदमलाई समझदारी र सावधानीको कदम भनेर व्याख्या गरेका छन्।
तेल आपूर्तिकर्ताहरूले पनि आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्। तर मोटरीङ्ग ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन्।
मन्त्रीहरूले अनावश्यक मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन्।
लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशङ्काका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए।
सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमती दिएको छ।
बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरी केन्द्रहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन्। उत्पादकहरूको एउटा संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धेरै कारहरूमा सामान्य अवस्थामा भन्दा धेरै तेल हालिएको भए पनि आगामी दिनहरूमा माग सामान्य अवस्थामा फर्कने अपेक्षा हामीले गरेका छौँ जसले पेट्रोल पम्पहरूमा चाप कम गर्ने छ।
बजारमा देखिएको इन्धन अभावका कारण चिकित्सकहरू र स्याहार केन्द्रका कर्मचारीहरूले अत्यावश्यक सेवाका कर्मचारीहरूलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन्।
यूके होमकेअर एसोसिएसनले आफ्ना कर्मचारीहरू पेट्रोलका लाइनमा अल्झंदा केन्द्रहरूमा कर्मचारी अभाव भएको जनाएको छ। ब्रेक्जिट, कोभिड, ज्यालाको तह र जेष्ठ जनशक्ति जस्ता कारणले लरी चालकहरूको सङ्कट निम्तिएको छ।
ब्रिटेन युरोपेली सङ्घ ईयूबाट बाहिरिएपछि कयौँ युरोपेली चालकहरू आफ्नो देश फर्किएका थिए। थप सीमाको झन्झट र आयमा पर्ने असरका कारण कतिपय अन्यत्र काम गर्न गएको बिबिसीले जनाएको छ ।