Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७८ मंगलवार • १६:३६:०७ बजे
  • 709
    SHARES
  • परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    images

    अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

    सर्वोच्च अदालत स्रोतका अनुसार सोमबार नै अधिवक्ता न्यौपानेले रिट पेस गरेकोमा मंगलबार दर्ता गरी बुधबार सुनुवाइ हुने पेसी तोकिएको हो ।

    परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको ‘संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा उल्लेख छ ।


    "राष्ट्रसंघमा नेपालले उठाएका १० सवाल"

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र दुईपक्षीय एजेण्डा र विषयमा नेपालको धारणा राखेका छन् । यस अगाडिको तुलनामा केही अन्तर्राष्ट्रिय एजेण्डामा नेपालले आफ्नो पोजिसन स्पष्ट पारेको छ । महासभामा नेपालले उठाएका विषयलाई बुँदागत रुपमा विश्लेषण गरिएको छ ।

    १. भ्याक्सिनमा असमानता नहोस्

    महासभामा नेपालले कोभिड भ्याक्सिनमा देखिएको असमानताको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । धनी मुलुकहरुले आफूलाई चाहिने भन्दा बढी भ्याक्सिन भण्डारण गरेको र गरीब मुलुकले पर्याप्त नपाएको विषय विश्वव्यापी रुपमा उठेको छ । सभालाई सम्बोधन गर्दै खड्काले भने, ‘निम्न आय भएका मुलुकहरुमा भ्याक्सिन असमानताको गम्भीर सामाजिक र आर्थिक प्रभाव देखिएको छ । सबैलाई र सबैतिर खोपको निष्पक्ष र समान पहुँच सुनिश्चित गरिनुपर्छ ।’

    खड्काले भ्याक्सिनलाई सार्वजनिक वस्तुको रुपमा घोषणा गर्नुपर्ने र सबैले यसबाट लाभ लिनुपर्नेमा जोड दिएका छन् । नेपालले भ्याक्सिन प्रदान गर्ने छिमेकी र अन्य मुलुकहरुलाई पनि धन्यवाद दिएको छ । खोपको असमान वितरणलाई नेपालले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जोडतोडका साथ उठाइरहेको छ ।

    सम्बोधनको क्रममा खड्काले भनेका छन्, ‘विश्व अर्थतन्त्रको केन्द्र एशियातर्फ केन्द्रित भइरहेको छ जुन भारत र चीनको आर्थिक वृद्धिमा केन्द्रित रहेको छ ।’ मन्त्री खड्काले विश्व अहिले जटिल र ध्रुवीकृत भएको समेत बताएका छन् ।
    २. अफगानिस्तान हामी सबैको साझा चासो

    यस अगाडि अगष्ट १७ मा अफगानिस्तानको मामिलामा विज्ञप्ति प्रकाशित गरेर त्यहाँको शान्ति र स्थायित्वका लागि आग्रह गरेको नेपालले महासभामा विस्तृतमा आफ्नो धारणा राखेको छ । नेपालले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमलाई हामी सबैको साझा चासो भनेको छ ।

    त्यहाँको मानवीय सहयोगको पहुँचलाई सुनिश्चित गर्दै अफगानिस्तानको समाजका सबै क्षेत्रका व्यक्तिको शिक्षा र स्वास्थ्यको अधिकार सुचारुका लागि समेत नेपालले आग्रह गरेको छ । नेपालले सम्बन्धित सबै पक्षलाई शान्ति, सुरक्षा र स्थायित्व सुनिश्चित गर्दै अफगानी जनताको आधारभूत अधिकार र स्वतन्त्रताको लागि आग्रह गरेको छ ।

    सम्बोधनमा नेपालले अफगानिस्तानलाई संयुक्त राष्ट्रसंघको वडापत्र र अन्तर्राष्ट्रिय कानून अनुसार अन्तर्राष्ट्रिय समुदायसँग इन्गेज हुन समेत आग्रह गरेको छ । नेपालले सम्बोधनमा तालिबानको नाम लिएको छैन । नेपालले अफगानिस्तानको मानवअधिकारको विषयमा प्राथमिकता दिएको देखिन्छ । अफगानिस्तानको मामिलामा नेपालको अडान भारत लगायत अन्य प्रजातान्त्रिक मुलुकहरुले लिएको अडानसँग मेल खान्छ ।

    ३. म्यानमारमा संवैधानिक प्रक्रिया पुनर्बहाली होस्

    गत फेब्रुअरीमा म्यानमारमा भएको सैनिक ‘कु’ को सम्बन्धमा समेत नेपालले स्पष्ट रुपमा बोलेको छ । सम्बोधनको क्रममा मन्त्री खड्काले सम्बन्धित पक्षलाई जनताको इच्छालाई सम्बोधन गर्न, प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया पुनर्बहाली गर्न र म्यानमारका जनताको प्रजातान्त्रिक अधिकारलाई रक्षा गर्न भनिएको छ । त्यहाँको सैन्य शासकको नाम नलिई नेपालले संवैधानिक प्रक्रिया सुचारुको लागि आग्रह गरेको छ ।

    ४. मध्यपूर्वको संकट समाधान होस्

    यस पटकको महासभा बैठकमा नेपालले मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका संकटहरुको बारेमा समेत आफ्नो स्पष्ट अडान राखेको छ । लिबिया, सिरिया र यमनका जनताले भोगेका समस्याहरु तत्कालै समाधान हुनुपर्ने अडान नेपालले लिएको छ । साथै नेपालले इजरायल र प्यालेस्टाइन बीचको विवादलाई पनि ‘टु स्टेट’ सोलुसनको आधारमा समाधान गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सीमालाई सम्मान गर्न आग्रह गरेको छ ।

    ५. शान्ति सेनामा उच्च पद पाउनुपर्ने जिकिर

    विश्व शान्ति स्थापनाको क्षेत्रमा नेपालले खेलेको भूमिकाको बारेमा विस्तृतमा चर्चा गर्दै परराष्ट्रमन्त्री खड्काले विगत ६३ वर्षमा विश्व सुरक्षा र शान्तिका लागि नेपालले निरन्तर भूमिका खेलेको उल्लेख गरेका छन् । शान्ति सेनामा नेपालले सबैभन्दा बढी आर्मी र पुलिस योगदान गरेको हिसाबले नेपाल लगायतका मुलुकले राष्ट्रसंघ मुख्यालय र फिल्ड कार्यालयहरुमा उच्च पद योग्य भएको उल्लेख गरेका छन् ।

    ६. सैन्य खर्च कोभिड र गरीबी निवारणमा खर्च गर्न आग्रह

    पछिल्लो पटक ठूला मुलुकहरुको बीचमा देखिएको आणविक हतियारको प्रतिस्पर्धातर्फ संकेत गर्दै नेपालले त्यसलाई रोक्नका लागि समेत आग्रह गरेको छ । सम्बोधनका क्रममा ठूला मुलुकहरुतर्फ संकेत गर्दै खड्काले भनेका छन्, ‘हामी पहिला सैन्य प्रयोजनको लागि विनियोजन भएको बजेट कोभिड–१९ लाई सम्बोधन गर्न र जनतालाई गरीबीबाट बाहिर ल्याउनको लागि सहयोग गर्न आग्रह गर्दछौं ।’

    नेपालले सबै आणविक हतियारलाई निःशस्त्रीकरण गर्नका लागि एक समयसीमा तोकेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।

    ७. जलवायु परिवर्तन सम्मेलनमा ब्रेक थ्रु हुनुपर्छ

    आगामी नोभेम्बर महीनामा हुने जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सम्मेलनमा कोप–२६ सम्मेलन जलवायु संकट समाधानको दिशामा ब्रेक थ्रु हुनुपर्ने नेपालले बताएको छ । सो सम्मेलनमा विश्व तापमानलाई १.५ मा सीमित गर्ने विषयमा छलफल हुनेछ । महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले विकासोन्मुख मुलुकहरुलाई अनुकूलन कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक र प्राविधिक सहयोग हुनुपर्ने बताएका छन् । सो सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने तयारी छ ।

    ८. राष्ट्रसंघको दीर्घकालीन लक्ष्य २०३० पूरा गर्न कठिन

    संयुक्त राष्ट्रसंघको दीर्घकालीन विकास लक्ष्य २०३० प्राप्त हुने ट्रयाकमा विश्व नरहेको नेपालले बताएको छ । कोराेना महामारीले सो प्रयासमा गम्भीर असर गरेको नेपालले उल्लेख गरेको छ । सो लक्ष्य प्राप्त गर्नका लागि नेपालले शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तीकरणको क्षेत्रमा उपलब्धि हासिल गरेको खड्काले उल्लेख गरेका छन् ।

    शान्ति सेनामा नेपालले सबैभन्दा बढी आर्मी र पुलिस योगदान गरेको हिसाबले नेपाल लगायत मुलुकले राष्ट्रसंघ मुख्यालय र फिल्ड कार्यालयहरुमा उच्च पद योग्य भएको परराष्ट्रमन्त्री खड्काले उल्लेख गरेका छन् ।
    ९. गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी हुँदैन

    महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन नेपाल प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् । मन्त्री खड्काले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी समेत नहुने उल्लेख गरेका छन् । नेपाल मानव धिकार परिषद्को सदस्य भएकाले मानवअधिकारका सवालमा नेपालले गैरराजनीतिक र निष्पक्ष एप्रोच लिने समेत खड्काले उल्लेख गरे ।

    १०. परराष्ट्र नीतिको उच्च प्राथमिकतामा छिमेक

    महासभालाई सम्बोधनका क्रममा मन्त्री खड्काले नेपालले परराष्ट्र नीतिबारे समेत विस्तृतमा बोलेका छन् । उनले सो नीतिको उच्च प्राथमिकतामा छिमेकी मुलुक भारत र चीन रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सार्वभौम समानता, पारस्परिक सम्मान र  लाभको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

    ‘समावेशी, पारदर्शी र प्रतिनिधित्व सहितको परिषद्’

    यसबाहेक नेपालले संयुक्त राष्ट्रसंघको सुधारका लागि विभिन्न मुलुकले उठाएका एजेण्डामा नेपालको पनि सहयोग र समर्थन गरेको उल्लेख गरेका छन् । नेपालले राष्ट्रसंघका विभिन्न निकायमा विकासोन्मुख मुलुकहरुको थप प्रतिनिधित्वमा समेत जोड दिएको छ । परराष्ट्रमन्त्री खड्काले भनेका छन्, ‘हामी समावेशी, पारदर्शी र प्रतिनिधित्व सहितको राष्ट्रसंघ सुरक्षा परिषद्को पक्षमा रहेका छौं ।’

    त्यसैगरी नेपालले क्षेत्रीय सहकार्य र कनेक्टिभिटीका पक्षमा रहेको समेत बताएको छ । पछिल्लोपटक विश्व राजनीति र अर्थनीतिमा आएको परिवर्तनको सम्बन्धमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    सम्बोधनको क्रममा खड्काले भनेका छन्, ‘विश्व अर्थतन्त्रको केन्द्र एशियातर्फ केन्द्रित भइरहेको छ जुन भारत र चीनको आर्थिक वृद्धिमा केन्द्रित रहेको छ ।’ मन्त्री खड्काले विश्व अहिले जटिल र ध्रुवीकृत भएको समेत बताएका छन् । सम्बोधनका क्रममा मन्त्री खड्काले सन् १९६० मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले महासभामा गरेको सम्बोधनको सन्दर्भ समेत उल्लेख गरेका छन् । कोइरालाले महासभामा बोलेको एक वाक्य समेत उल्लेख गरेका छन् ।

    बीपी कोइरालाले त्यतिबेला मुलुकहरुबीचको आर्थिक असमानता, एकै मुलुकभित्र धनी र गरीबबीचको असमानता द्वन्द्वको स्रोत भएको उल्लेख गरेका थिए ।

    साथै, बीपी कोइरालाले राष्ट्रसंघको मुख्य जिम्मेवारी विश्वासको वातावरण बनाउनु रहेको उल्लेख गरेका थिए । मन्त्री खड्काले बीपीले सन् १९६० मा भनेको विश्वासको वातावरण बनाउने विषय अहिले पनि सान्दर्भिक रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology