पोखरा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बागमती प्रदेशमा सरकारको नेतृत्व गर्ने कांग्रेसको प्रस्ताव आपत्तिजनक भएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल मार्फत डा. कोइरालाले नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरेको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको बताउनुभएको हो ।
उहाँले यस्तो प्रस्तावले कांग्रेस पार्टीलाई कमजोर बनाउने उल्लेख गर्नुभएको छ ।
‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?’ भनि कोइरालाले प्रश्न समेत गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ।यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ ।
संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु ।’
कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमतीमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेको थियो ।