नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा कम्युनिस्ट, मधेसवादी र राप्रपा मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे ।
उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औँल्याए । “कांग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिस्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,” थापाले भने,“उनीहरु मिले पनि जित्न सक्छौँ ।
त्यसका लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।” उनले थपे,“कांग्रेस आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।” नेता थापाले कांग्रेसमा सुद्धिकरणको आवश्यकता रहेको पनि औँल्याए । अहिलेकै अवस्थामा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए ।
अहिलेको अवस्थामा रहे नेपाली कांग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।
असफल नेतृत्वलाई अब दोहोर्याउनु हुँदैन : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् ।
शनिबार काठमाडौँमा १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको कै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन् ।
उनले लोकतन्त्रलाई बलियो बनाउँदै आम नेपालीले सोचेको मुलुक बनाउन आफू केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए ।
नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने तर बाहिरबाट आएको नेतालाई ठुलो देख्ने रहेको गुनासो गरे ।
उनले आफू पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गरे । पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अब भने विश्राम दिने बेला आएको उनको भनाइ छ ।
उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अब दोहर्याउन नहुने धारणा राखे । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशील सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने जिकिर गरे ।