नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन पार्टी अध्यक्ष प्रचण्डको निर्णयलाई नमानेपछि बिचैमा समापन गरिएको छ ।
लगातार ५ दिनसम्म नेतृत्व चयनकाे विषयमा छलफल भएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डले अध्यक्ष र महासचिव टुङ्ग्याएका थिए । तर, प्रचण्डले टुङ्ग्याएका अध्यक्ष पञ्चा सिंहलाई हलले स्वीकार गरेपनि महासचिव दिपेश पुनलाई भने स्वीकार गरेन ।
असोज १४ गते उद्घाटन भएको अखिल(क्रान्तिकारी)को सम्मेलन ४ दिनसम्म निरन्तर छलफल र बहस गर्दासमेत सहमति हुन नसकेपछि असोज १८ गते बन्दसत्र हलबाट अध्यक्ष पञ्चा सिंहलाई घोषणा गरेर समापन गरिएको छ । तर, अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको विषयमा भने सम्मेलनले कुनै निर्णय गर्न सकेन ।
२१ औँ राष्ट्रिय सम्मेलनबाट सबैभन्दा बढी मत ल्याएर वरिष्ठ उपाध्यक्ष बनेकी पञ्चा सिंहलाई सर्वसहमत अध्यक्ष बनाएको हलले अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको विषयमा भने कुनै निर्णय नगरी समापन गरेको छ ।
अध्यक्ष पञ्चा सिंहलाई पार्टी अध्यक्ष प्रचण्डले नियुक्त गर्न भनेपछि सबैले सहमति दिएका थिए । तर, महासचिवमा अर्को वरिष्ठ उपाध्यक्ष दिपेश पुनलाई नियुक्त गर्न प्रचण्डले भनेपनि हलले उक्त निर्णयलाई अस्वीकार गरेपछि कुनै पदाधिकारी र केन्द्रीय समिति घोषणा नगरी समापन गरिएको छ ।
अहिले अखिल(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन अध्यक्ष मात्र घोषणा गरेर समापन भएको छ । अखिल(क्रान्तिकारी)को बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाउने जिम्मा अब कार्यालय टिमलाई आएको अखिल(क्रान्तिकारीको निवर्तनमा प्रवक्ता तथा उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
उनका अनुसार निवर्तमान पदाधिकारी महासचिव र उपाध्यक्ष सहितको कार्यालय टिमले अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुङ्ग्याउने छ । त्यसको लागि भोलि बैठक बस्ने बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार महासचिवमा पवन कार्की, केशव रावल, नरेश रेग्मीलगायतका नेताहरुको दाबी रहेको थियो ।
उनीहरुबाट सहमति हुने नदेखिएपछि उपाध्यक्ष रहेको दिपेश पुनलाई ल्याएर सहमति गर्न खोजिएको बस्नेतले बताए । दिपेश पुन उपाध्यक्षमा नै रहने भनिएपनि सचिवबाट महासचिवमा सहमति हुने नदेखिएपछि उनलाई ल्याउने छलफल भएको तर, हलमा पेस नभएको बस्नेतले बताए ।
अहिले महासचिव उपाध्यक्षबाट बनाउने की सचिवबाट बनाउने भन्ने विषयमा विवाद देखिएको छ । उपाध्यक्षबाट महासचिव बनाउने तयारी भएपछि बन्दसत्र हलमा केही बेर नाराबाजीसमेत भएको थियो । अहिले छलफलको क्रममा भएकाले अब महासचिव को रहने भन्ने विषयमा एकिन नभएको बस्नेतले बताए । तर, महासचिवमा अध्यक्ष प्रचण्डलेसमेत दिपेश पुनलाई बनाउन भनिसेकेको छ । तर, महासचिवको दावेदार पवन कार्कीले अध्यक्ष प्रचण्डले ग्राण्डलाई नहेरी निर्णय गरेको बताए ।
उनले भने, ‘महासचिवको दावी गर्ने कोहीसँग पनि छलफल गरिएन तर, अध्यक्षलाई दिपेश पुनको नाममा सहमति भयो भन्ने रिर्पोङ गरेर निर्णय गर्न लगाइयो ।’ उनले छलफल नगरिकन र विधिभन्दा बाहिरबाट निर्णय गर्न नदिने बताए । आफूलाई सिंगो हलले महासचिव मानेको कार्कीको दावी छ ।
अहिले अखिल(क्रान्तिकारी)को २५ सदस्य पदाधिकारी र १ सय ९९ केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्यसलाई बढाएर ८१ सदस्य पदाधिकारी र ४ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव आएपछि हलमा एकाएक नाराबाजी सुरु भएको थियो ।
कार्कीले भने, ‘हामीले कुनै विषय निर्णय हुँदा विधि अनुसार गर्नुपर्छ भन्यौ, त्यही अनुसार हामीले उक्त हलमा गरिएको प्रस्ताव अस्वीकार गरेको हो ।’ अब २५ सदस्यीय पदाधिकारी र १ सय ९९ केन्द्रीय सदस्य टुङ्ग्याउने विषयमा कार्यालय टिममा छलफल हुने बस्नेतले बताए ।
बन्दसत्र हलमा फ्राक्सन इन्चार्ज हितमान शाक्यको शैलीको कारण समय भएको एक प्रतिनिधिले बताए । उनले भने, ‘मैले नेता असक्षम भन्न मिल्दैन तर, शाक्यले एक्कासी सदस्य संख्या ल्याएपछि हलले अस्वीकार गरेको हो ।’ अखिल(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन फ्राक्सन इन्चार्जको केही असावधानीको कारण नटुङ्गिकन समानप भएको विद्यार्थी नेताहरुको बुझाई रहेको छ ।
अखिल(क्रान्तिकारी)ले केन्द्रीय समितिको मात्र हैन प्रदेश समितिको पनि नेतृत्व टुङ्ग्याउन सकेको छैन । अहिलेसम्म सबै प्रदेशमा सम्मेलन गरेको भएपनि सम्मेलनले नेतृत्व बाहेक प्रदेश समितिको संख्या मात्र टुङ्ग्याएर छाडेको छ ।
केन्द्रीय समितिको पदाधिकारी र प्रदेश समितिको पदाधिकारी एकै पटक टुङ्ग्याउने अखिल(क्रान्तिकारी)को तयारी रहेको छ ।