पोखरा । जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन्।
सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले बताए।
बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ।
नेकपा एकीकृत समाजवादीले रक्षासहित ५ मन्त्रालय पाउने
त्यसैगरी नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ । यसै गरी नेकपा एसका एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ ।
किसान श्रेष्ठको नाम पनि चर्चामा छ । यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए ।