काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम चयन गर्न बैठक बोलाएको छ ।
बुधबार दिउँसो आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम चयन गर्न पौडेल समूहको बैठक बस्न लागेको हो ।यता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीको नाम सिफारिस भएको जनाइएको छ ।
सिटौला समूहले आफ्नो समूहबाट आलोपालो मन्त्री बनाउँदै आएका छन् । मन्त्रालय भागबण्डामा कुरा मिलेपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ । कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ ।
संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् ।
एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहसँग राख्ने भएका छन् । दुई मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको महामन्त्री डा। शशांक कोइरालाको सचिवालयले जनाएको छ ।
पौडेल समूहमा मन्त्रीका लागि केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी र राजन केसीको नाम चर्चामा छ ।
सरकार गठन भएको ८५ दिन पुग्दा पनि मन्त्रिमण्डल विस्तार नभएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ ।