पोखरा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव दर्ता गरेपनि प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा स्थगित भएको छ ।
प्रदेशसभाको अर्को बैठक कात्तिक ४ गतेका लागि बोलाइएको छ । प्रदेशसभा बैठक स्थगित भएसँगै शाक्यको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्रै हुने भएको छ ।
प्रदेश सभाको आज बसेको पहिलो बैठकमा दलको नेताहरुले विस्वासको मतको विषयमा आजै नभए भोलिसम्म टुंगो लगाउनुपर्ने बताएका थिए । तर दोस्रो बैठक सुरुहुन साथ सभामुखले कात्तिक ४ गते सम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
यस सँगै वाग्मती मुख्यमन्त्री शाक्य नेतृत्व सरकारको आयु लम्बिएको छ । मुख्यमन्त्री शाक्य उपाध्यक्ष रहेको एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।
अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गतेसम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता भए पनि दलहरुको सहमतिमा कात्तिकको पहिलो हप्तामात्र मत विभाजन गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय र कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा दसैंपछि विश्वासको मत लिने सहमति भएको थियो ।
बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ। कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो।
हाल बागमती प्रदेशसभामा १०९ जना सांसद कायम छन्। बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ। प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन्।
त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन। बागमती प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्।
बिपक्षी गठबन्धनले बागमती प्रदेशमा शाक्य नेतृत्वको सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन्। एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धले मुख्यमन्त्री बनाउने सहमती भइसकेको छ।
पार्टीभित्रको विवादमा माधव नेपालाई साथ दिँदै आएकी शाक्यलाई पार्टी विभाज हुँदा नेपाल पक्षमा लाग्नबाट रोक्न एमाले अध्यक्ष केपी ओली खेमाले हतारहतार मुख्यन्त्री नियुक्त गरेको थियो। गएको २ भदौमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्।