पोखरा । उपचार पछी पोखरा फर्किएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।
उनी लामो समयपछि सोमबार कार्यालय आएका हुन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको उपचारपछि शनिबार पोखरा फर्किएका हुन् ।
सोमबार कार्यालय पुगेर प्रमुख जिसीले जिसीले कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएका हुन् ।
महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्प गुच्छासहित स्वागत गरेका थिए ।
साढे दुई महिनाभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरेका छन् ।
आफू पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन् ।