Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १०:१७:१६ बजे
  • 856
    SHARES
  • कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

    महाअष्टमी अर्थात् दसैँको आठौँ दिन । आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी मनाउने छन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खाने परम्परा रहेको छ ।

    images

    कुछी भ्वय अर्थात् दुई मानाको भोज । जसमा कुछीको अर्थ दुई माना र भ्वयको अर्थ भोज हो । यसरी केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय खाने गरिन्छ ।

    कुछी भ्वय खानको लागि तरकारीका परिकार मात्रै १२ थरीको चाहिन्छ । साथै छोयला पनि १२ टुक्रा गरिन्छ ।

    केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

    दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ भक्तपुरका स्थानीयको भनाइ छ । तर संस्कृतविद् ओम धौँभडेलले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय रहेको तर पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको बताउँछन् ।

    नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको उनले बताए ।

    केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केराको पात भ्वयमा प्रयोग हुने गरेको उनले बताए ।

    त्यसैले आज भक्तपुरका चोकचोकमा केराको पातको व्यापार पनि राम्रै हुन्छ । महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याउँछन ।

    नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कुछी भ्वय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology