कुवेत - मातृभूमि नेपाल प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला रोजगारीका सिलसिलामा कुवेतमा रहेका नेपालीहरूले मानवीय सहयोगको हात अघि बढाएका छन्। किरात याक्थुङ चुम्लुङ प्रवास शाखा कुवेतले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि रु. १ लाख १ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।
आफ्नो भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षणमा सक्रिय रहँदै आएको चुम्लुङले विपद्को समयमा सामाजिक दायित्वलाई पनि उत्तिकै महत्व दिएको जनाएको छ। संस्थाका पदाधिकारी, सदस्य तथा अन्य सहयोगीहरूको सहभागितामा संकलन गरिएको १८१ KD मा संस्थाको तर्फबाट थप २७.४३५ KD थप गरी कुल २०८.४३५ KD बराबरको रकम संकलन गरिएको थियो।
चुम्लुङ प्रवास शाखा कुवेतका सचिव सुरेन्द्र लिम्बूले विपत्तिमा परेका नेपालीको पीडा भूगोलले छुट्याउन नसक्ने बताए। “हामी रोजगारीका लागि विदेशमा भए पनि हाम्रो मन र माया मातृभूमिसँगै छ। विपद्को समयमा पीडितको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो,” उनले भने। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न आग्रह गरे।
चुम्लुङले बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा उद्धार गरिएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित तथा प्रभावित परिवारले चाँडै सुरक्षित र सामान्य जीवनमा फर्किन सकून् भन्ने शुभेच्छा व्यक्त गरेको छ।
राहत अभियानमा संस्थाका संरक्षक, सल्लाहकार, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवलगायत पदाधिकारी तथा सदस्यहरूसँगै धनकुटा, पोखरा, मोरङ, इलाम, पाल्पा र पाँचथरलगायत विभिन्न स्थानसँग जोडिएका सहयोगीहरूले समेत योगदान गरेका थिए।
विपद्को बेला दूरी होइन, मानवता ठूलो हुन्छ। यही भावनाका साथ कुवेतमा रहेको चुम्लुङ प्रवास शाखाले मातृभूमिको दुःखमा आफ्नो तर्फबाट सानो भए पनि सहयोगको हात बढाएको जनाएको छ।
