सुनसरी ,इनरुवा । इनरुवा सबस्टेशन डुबानमा पर्दा त्यहाँ कार्यरत मजदुरहरुको पनि बेहाल भएको छ । उपकरणहरु जडान कार्यमा संलग्न मजदुरहरु बसेको कोठाभित्रै कम्मरसम्म डुबाउने पानी छ ।
उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले डुंगामार्फत् उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसअघि उनीहरु कोठाभित्रकै अग्लो स्थानमा बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका थिए । कोठाभित्र रहेका खानेकुरा, कपडा, प्रयोग गर्ने औजार सबै डुबानमा परेको उनीहरुले बताएका छन् ।
अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०१३२३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ ।
सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१भित्र) निर्माण सम्पन्न गरी सन्चालन गर्ने लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।
यस्तो छ आज दिनभरको मौसम विश्लेषण
देशका विभिन्न भागमा आज पनि बदली भइरहेको छ। काठमाडौंको आकाश धुम्मिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ।
महाशाखाले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ। हाल देशमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको महाशाखाले जनायो।
आज दिउँसो र रातिको मौसम यस्तो रहनेछ दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महशाखाले जनायो। 'प्रदेश १, प्रदेश नं २, वाग्मती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ।
प्रदेश १ का थोरै र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।' यसैगरी राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनायो।
'प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ, 'देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।'