Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जहाँ दलितलाई कुटी–कुटी मारिन्छ

जहाँ दलितलाई कुटी–कुटी मारिन्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७८ बुधवार • ११:५२:३० बजे
  • 1.4K
    SHARES
  • जहाँ दलितलाई कुटी–कुटी मारिन्छ

    मानौं, कसैले रक्सी पिएर हल्ला गर्‍यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी ? यहाँ यस्तै घटना भएको छ। दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन्। उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ। यसो पिटेको खुत्रुक्कै गएछ।’

    images

    दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक। करिब डेढसय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन्। तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन।

    प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले। हस्याङफस्याङ गर्दै ५७ वर्षीया विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो। अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चलेको सुनिन्।

    मनमा चिसो पस्यो। उनले अड्कल काटिन्, श्रीमान्ले संसार छाडेछन्। त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन्। सबैको घरमा दसंैको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ। न्यायका लागि हारगुहार गरिरहेको छ। प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर–४, दुर्गा चोकमा भीमहादुरलाई औषधि व्यवसायी दिलीप श्रेष्ठले थप्पड हानेका थिए। भुइँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो।

     

    bhim-bk.jpgभीमबहादुरलाई त्यसअघि स्थानीय सीताराम बस्नेतले प्लास्टिकको पाइपले हिर्काएका थिए। श्रेष्ठ र बस्नेतको आरोप छ, ‘भीमबहादुरले मादक पदार्थ सेवन गरेर होहल्ला गरे, अपशब्द बोले।’ परिवार र आफन्तका अनुसार भीमबहादुरले करिब दुई वर्षदेखि रक्सी पिउन छाडेका थिए। प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले त्यस दिन रक्सी पिएको हालतमा भने देखेको बताए। तर, रक्सी पिएर हल्ला गर्दैमा पिटिहाल्नु जायज नभएको उनीहरूको भनाइ छ।

    बस्नेतले पाइपले हान्दा पनि उनी गएनन्। त्यसपछि श्रेष्ठले थप्पड हान्दा विक भुइँमा बजारिए। उनको टाउको पिच सडकमा बजारियो र रगत आयो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनी अचेत भए। उपचारका लागि अस्पताल लैजाँदा उनको बाटामै मृत्यु भयो। कुटपिटबाट मृत्यु भएको भन्दै मृतकका छोरा किसान विकले ज्यानसम्बन्धी कसूरमा जाहेरी दिएका छन्।

    ‘हामी दलित, गरिब। यिनीहरूलाई पिटे पनि हुन्छ, जे गरे पनि हुन्छ भनेर पिटेका त हुन् नि ! अरू भएको भए यसरी कुट्न सक्थे होला त ?’ भीमबहादुरका छोरा किसानले भने, ‘जसरी हुन्छ, हामीलाई न्याय चाहियो।’

    प्रहरीले भने यसलाई सामान्य हत्या घटनाका रूपमा लिएको छ। ‘मादक पदार्थ सेवन गरेर अपशब्द प्रयोग गरेको भन्दै कुटपिट हुँदा भुइँमा लडी टाउकामा चोट लागेर मृत्यु भएको पाइएको छ। स्थानीय बासिन्दालाई ल्याउने, बुझ्ने, अनुसन्धान गर्ने काम भइरहेको छ’, चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले भने, ‘बाहिर आएजस्तो दलित सबाल जोडिएको अहिलेसम्म देखिएको छैन।’

    श्रेष्ठ र बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए। ‘मान्छे मरेको होकी जिउँदै छन्, पत्यारै लागेको छैन। हाम्रो रिसराग केही छैन। उनीहरूको पनि हामीसँग रिसराग केही थिएन’, भीमबादुरकी श्रीमती विन्दुले भनिन्, ‘अब मेरो मान्छे फर्केर आउँदैनन्। मलाई न्याय चाहियो। दोषीले कडा सजाय पाउनुपर्‍यो। मैले क्षतिपूर्ति पाउनुपर्‍यो।’

    भीमबहादुर दम्पतीका तीन छोरीको विवाह भइसकेको छ। एउटा छोरासहित उनीहरू बस्दै आएका थिए। भीमबहादुरको कमाइले परिवारको गुजारा चल्थ्यो। अस्लील शब्द बोलेका कारण भीमलाई प्लास्टिकको पाइपले हिर्काएको सीतारामले प्रहरी समक्ष बयान दिएका छन्।

    त्यस्तै दिलीपले पनि आफूलाई तथानाम गालीगलौज गरेका कारण कुटपिट गरेको बताएका छन्। पोष्टमार्टम रिपोर्टअनुसार भीमबहादुरको टाउको पछाडिको भागमा चोट लागेको छ। घटनालाई लिएर दलित समुदायका अगुवाहरूले पीडितले न्याय पाउनुपर्ने माग गरेका छन्।

    जिल्लास्थित विभिन्न राजनीतिक दल निकटका दलित संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। ‘घटनाको सत्यतथ्य छानबिन हुनुपर्‍यो। दोषीलाई कारबाही हुनुपर्‍यो’, नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियारले भनिन्, ‘न्यायमा बहाना हुनुभएन। नत्र दलित भएकै कारण अपहेलित हुनुपर्ने अवस्थाको अन्त्यका लागि हामी आन्दोलित हुनेछौं।’

    यो समाचार अन्नपूर्ण पोस्टले लेखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology