यहाँस्थित धरानबाट २२ तोला सुन र १८ लाख नगदसहित २ जना पक्राउ परेका छन् । स्रोत नखुलेको उक्त रकम र सुनसहित धरान– १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका– २ का चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई रत्न रोडबाट पक्राउ गरेको हो ।
प्रहरीले रामबहादुरको साथबाट २२ तोला २ आना २ लाल बराबरका ५ वटा सुनका बाला र चन्द्र प्रसादको साथबाट १८ लाख नगद फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
प्रहरीका अनुसार दुवै जना सुन बेच्न ग्राहक खोजिरहेको अवस्थामा पक्राउ परेका हुन् । रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किँदा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले बताए ।
उनका अनुसार सुन र नगदको स्रोत नखुलेपछि र सुन खरिदको बिल पनि नभएपछि पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको बताइएको छ ।