Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको लमसुङ गाउँ पहिरोको उच्च जोखिममा

म्याग्दीको लमसुङ गाउँ पहिरोको उच्च जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • ०८:४०:३८ बजे
  • 745
    SHARES
  • म्याग्दीको लमसुङ गाउँ पहिरोको उच्च जोखिममा

    म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युतगृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् ।

    images

    लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो । “केही दिनअघिको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ”, उहाँले भन्नुभयो ।

    “सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्यचौकीसमेत जोखिममा परेको छ ।” भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका हुन् ।

    लमसुङ बस्तीको माथितर्फ विसं २०७४ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

    तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयवासीले बताएका छन् ।

    वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल गरेको बताउनुभयो ।

    यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि धौलागिरि गाउँपालिकाको वडा नम्बर २ का ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् ।

    बयालीस किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युत्गृह बाढीले बगाएपछि अन्धकार भएको हो । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सौर्य उर्जामा भर पर्नुपर्ने अवस्था आएको छ ।

    विसं २०७६ कात्तिकमा रु एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।

    लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।

  • सम्बन्धित विषय:

  • # पहिरोको उच्च जोखिममा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology