Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च

राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • ०८:००:५७ बजे
  • 1.3K
    SHARES
  • राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च

    राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो ।

    images

    जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडकमार्ग पटक–पटक अवरुद्ध हुन पुगेको थियो । विभागका कर्मचारी कृष्णहरि घिमिरेले भने, “जागिर खाएको यत्रो वर्ष भयो तर राहदानी बनाउनेको भीड यसैपाला देखेको हो ।”

    अति भीडका कारण विभागका कर्मचारीलाई पनि व्यवस्थापन गर्न हम्मे–हम्मे परेको उनले बताए । अचाक्लीको भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको थियो । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ ।

    त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु गर्दै छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ । तर, अचेल अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको अनुमान कर्मचारी घिमिरे गर्छन् । त्यो भिसा आवेदनका लागि गत सालदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ ।

    विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रका नम्बरले काम गथ्र्यो तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ । अर्को सातासम्म मात्र आवेदनको मिति रहेको हुनाले तिहारको मुखमा राहदानी बनाउनेको लर्को लागेको विभागका कर्मचारी बताउँछन् ।

    विभागमा दैनिक आठ सयको हाराहारी मात्र राहदानी जारी गर्ने गरिन्छ । धेरै मानिस आएपछि अन्य दिनको टोकन पनि आइतबार नै बाँडिएको छ । टोकन लिएकाले सोअनुसार राहदानीका लागि भरेको आवेदन दर्तासहित राहदानी पाउने छन् । यस आर्थिक वर्षको गत सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १७५ वटा राहदानी जारी भएका छन् ।

    नेपालमा एमआरपी जारी हुन सुरु गरेयता हालसम्म ६७ लाख ५९ हजार ९८३ थान राहदानी जारी भएका छन् । यसरी भीड बढ्दा पुरानो राहदानीको खपत ह्वात्तै बढेको छ । विद्युतीय राहदानी जारी हुँदासम्म केही थान राहदानी मौज्दात रहने अनुमान विगतमा गरिए पनि अब त्यो मुस्किल हुँदै गएको छ ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राहदानी बनाउने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology