Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू

रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १६:२०:३० बजे
  • 910
    SHARES
  • रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू

    दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन् । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुई दुहुना भैँसी उनका आम्दानीका स्रोत हुन् ।

    images

    दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उहाँको गाउँका किसान उत्साहित छन् । दक्षिण बागलुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू १’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ ।

    यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो । उनीजस्तै धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गत असारको १ गते यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरबाट पातीचौरसम्म पुग्यो ।

    असार १ गतेको बाढीपहिराका कारण सडक बन्द भएपछि अहिले यहाँका किसानले गाउँमै दूध बिक्री गर्छन् । “यहाँबाट एक क्यान दूध पातीचौरसम्म पु¥याइयो, असारयता बन्द छ”, लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्षसमेत रहेका शर्माले भने, “अब हाम्रो योजना पोखरा दूध पठाउने हो ।”

    एक क्यान दूधमा ४० लिटरमात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दूधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको छ । पोखरामा दूध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको भन्दै शर्माले सिधा पोखरा पठाउँदा दूधको मूल्य थप पाइने आशा व्यक्त गरे ।

    जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दुग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दूध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दूध बजारीकरणमा सहज भएको शर्माले बताए ।

    कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् । “हामी गुजारामुखी व्यवसायमा थियौँ, अहिले दूधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “यो गाउँपालिकाका लागि खुशीको कुरा हो । हाम्रो कार्यकालको महत्वपूर्ण उपलब्धि पनि ।” स्थानीय बजारमा समेत दूधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुईवर्ष यतामात्रै भएको हो ।

    सडकलगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दूध स्थानीय बजारमा बिक्री भइरहेको छ । किसानलाई गाउँपालिकाले सहयोग गरेको छ ।

    दूधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताए । “हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे”, उनले भने, “रोजगारीसमेत सिर्जना हुने गरी काम गरेका समूहलाई सघाइरहेका छौँ ।”

    किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रसिलो भैँसी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology