तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
‘जोखिम कायमै रहेकाले जोखिमबाट बच्दै चाडपर्व मनाउनुपर्ने अवस्था छ । कोरोना संक्रमण फैलन नदिन जिल्लावासीले सावधानी अपनाउनेमा विश्वस्त छौँ’, उनले भने ।
प्रशासनले तिहारको बेलामा हुने मेला महोत्सव, जात्रालगायतका भिडभाड हुने कार्यक्रम गर्नसमेत रोक लगाएको छ । पूजापाठलाई घरमै सीमित बनाउन प्रशासनको सुझाव छ ।
अनावश्यक यात्रा नगरीकन आफ्नै परिवारका सदस्य मिलेर घरमै चाडपर्व मनाउनुपर्ने अर्याल बताउँछन् । जिल्लामा हाल ५१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
संक्रिमत सबै होम आइसोलेसनमा बस्दा संस्थागत आइसोलेसन केन्द्र रित्तो छन् । जिल्लामा दैनिक १० जनाभन्दा कम कोरोना संक्रमित थपिने गरेका छन् ।
कोरोनाको दोस्रो लहर फैलिएपछि वैशाखयता ५ हजार ३ सय ७९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये ५ हजार ५ सय ४ जना निको भए । एक सय २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।