Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई सय रुपैयाँमा मान्छेको ढुवानी

दुई सय रुपैयाँमा मान्छेको ढुवानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १३:४२:०७ बजे
  • 595
    SHARES
  • दुई सय रुपैयाँमा मान्छेको ढुवानी

    दुई सय रुपैयाँमा मन्छेको ढुवानी सुन्दा अनौठो लाग्न सक्छ । तर, ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत पहिलेदेखि नै ढुवानी हुँदै आएको छ ।

    images

    यातायातअन्तर्गत सवारीसाधन (गाडी) र हवाईमार्गमा हेलिकोप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी हुँदै आएको छ ।

    पाथीभरा धाम ३७९४ मिटरको उचाइमा छ । सो उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रूपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

    पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै सजिलो छ । करिब दुई मिटर चौडा र पैदल यात्रा सहज हुनेगरी वारपार ढुंगा बिछ्याइएको छ । पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि सुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर छ । करिब अढाई घन्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ । यद्यपि, उकालो र ओरालो हिँड्नुपर्ने हुँदा जेष्ठ, बालबालिका तथा हिँड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुने गर्दछ ।

    पदयात्रा गर्न नसक्नेका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलोग्राम एकसय रुपैयाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् ।

    धामदेखि पुनःफेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् ।

    भरिया काम गर्दै आउनुभएका पासाङ शेर्पाले अनुमानमा दुई–चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोहीअनुसार ढुवानी रकम लिने गरेको बताए । भरिया सुविधा १५–२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको उनको भनाइ छ । धेरै तौल हुने तीर्थयात्रीलाई तीन–चार जनाको समूह मिलेर बोक्ने गरेको भरियाहरू बताउँछन् ।

    उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्न गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरूको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्यूनतम तीन हजार रुपैयाँ रोज बस्ने पनि उनीहरू बताउँछन् ।

    भरियाको कार्य गर्नलाई तीन सय बढीले सम्पर्क गरे पनि अहिले दसैँ तिहारको मौसममा करिब एक सय जना नियमित खट्दै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघले जनाएको छ । भरियाको काम गर्नेमा केही महिलासमेत छन् । तीर्थयात्री र उनीहरूको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् ।

    अहिलेको पाथीभरा दर्शनको मुख्म मौसममा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्दछ । भरिया सुविधाको व्यवस्था भएका कारण पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई राहत मिलेको छ भने भरियाका लागि पनि राम्रो आम्दानीको स्रोत बनेको बताइएको छ ।

    यसरी पाथीभरा दर्शनमा जाने पर्यटक तथा तीर्थयात्रीलाई सदरमुकाम फुङ्लिङ हुँदै तल्लो फेदीसम्म यातायातको सुविधा छ। त्यस्तै हवाई मार्गमार्फत आउन चाहानेले काठमाडौँ, झापाको चन्द्रगढी र धनकुटाको भेरेटारबाट हेलिकप्टर सुविधा पनि सेवा प्रदायक कम्पनीहरुले दिँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # मान्छेको ढुवानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology