तीन दिनयता काठमाडौं उपत्यकासहित देशभर घमाइलो घाम लाग्न सकेको छैन । अरब सागरमा उत्पन्न निम्न चापीय प्रणालीका कारण मौसममा बदली हुँदा घाम लाग्न नसकेको हो । यसले चिसो मात्र बढाएको छैन, प्रदूषण पनि बढाएको छ ।
छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन । अब कहिलेबाट मौसममा सुधार हुन्छ ? मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई हामीले सोधेका थियौं । जवाफमा उनले भनिन्, ‘निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिन्छ, भोलिबाट मौसममा सुधार हुँदै जान्छ । तर, फेरि अर्को सिस्टम नआउला भन्न सकिँदैन ।’
हिउँदयाममा बदली, तुवाँलोको समस्या बढ्दै जाने मौसमविद् मानन्धरले बताइन् ।
आज बिहान काठमाडौं उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ ।
पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ मानन्धरले भनिनन्, ‘तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’ आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीको मौसममा बदली भएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।