सन्की पाइलटले आफ्नो ड्युटी समय सकियो भन्दै यात्रुलाई बिचल्लीमा पारे । सोमबार काठमाडौंबाट रुकुमका लागि भनेर टिकट काटेका यात्रुहरु नेपाल एयरलाइन्सको जहाजमा बसे । सबै यात्रु जहाजमा बसेपछि पाइलटले जहाज उडाए । जहाजमा बसेका यात्रुहरु चाँडै गन्तव्यमा पुग्ने आशामा थिए ।
नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले उडाएको ट्वीनअटर जहाज सोमबार दिउँसो ४ बजेतिर नेपालगञ्जको आकाशमाथि थियो ।
जहाजको गन्तव्य थियो – रुकुमको चौरजहारी विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए । उडिरहेको जहाज र अवतरण गर्नुपर्ने चौरजहारी विमानस्थलमा कुनै समस्या थिएन ।
जहाजका यात्रुहरू गन्तव्यमा पुग्नेमा ढुक्क थिए । तर, पाइलटले आफ्नो ड्युटी आवर (काम गर्ने अवधि) सकिएको भन्दै नेपालगञ्जमै जहाज रोकिदिएपछि यात्रुहरू अलमल्ल परे । के, पाइलटले ड्युटी आवर सकिएको भन्दै गन्तव्यमै नपु-याइ बीचमै जहाज अवतरण गर्न मिल्छ त ? यस्तो गर्ने पाइलटमाथि के कारबाही हुन्छ ? यो घटनाबारे थाहा पाएका धेरैमा यो जिज्ञासा छ ।
खासमा पाइलटले ड्यूटी आवर या दैनिक निर्धारित अवतरण कोटा पूरा भएमा उडिरहेको जहाजलाई गन्तव्यमा नपु-याई बीचमै अवतरण गराउन पाउने व्यवस्था रहेको तथा नेपाल नागरिक उड्ययन प्राधिकरण र अन्तरराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले पाइलटको उडान अवधि एक दिनमा १० घण्टा वा १० पटकसम्म अवतरण भनी तोकेको उड्ययन क्षेत्रका अधिकारीहरूले बताइरहेका छन् ।
उनीहरूका अनुसार पाइलट शेर्पाको ड्यूटी आवर सोमबार ४ बजेसम्म मात्रै भएकाले उनले चौरजहारी नपु-याइ नेपालगञ्जमै विमान अवतरण गराएका थिए ।