Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२५ घण्टाको अवधिमा तीन जनाले गरे आत्महत्या

२५ घण्टाको अवधिमा तीन जनाले गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • १०:५१:४५ बजे
  • 1.5K
    SHARES
  • २५ घण्टाको अवधिमा तीन जनाले गरे आत्महत्या

    कर्णाली प्रदेशमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । तीनै जनाले पासो लगाएर आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार डोल्पामा एक जना र सुर्खेतमा दुई जनाले आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ वर्षकी अस्मिता शाहीले सलको पासो लगाई आत्महत्या गरिन् ।

    images

    उनले डोल्पाकै मुड्केचुला गाउँपालिका—४ मा रहेको आफ्नै मामा केव रोकायाको घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी मामाको घरमै बस्दै आएको प्रहरीको भनाइ छ । अस्मिताले आत्महत्या गरेको ११ घण्टापछि सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्महत्याको बाटो रोजेकी छन् ।

    प्रवक्ता श्रेष्ठका अनुसार सरस्वतीले गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलकै पासो लगायर झुण्डिएकी थिइन् । सरस्वती विवाहित महिला हुन् । यस्तै बुधबार बिहान आठ बजे सुर्खेतकै गुर्भाकोट नगरपालिका–७ को नाङ्गी भन्ने स्थानका ६९ वर्षका वृद्ध दिलबहादुर खत्रीले पनि झुण्डिएर आत्महत्या गरेका छन् । उनले आफ्नै घर नजिकैको खन्युको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।

    उनी झुण्डिएको अवस्थामा स्थानीयले बिहान १० बजेपछि मात्र देखेका थिए । प्रहरीका अनुसार यी तीनवटै घटनाको अहिले अनुसन्धान भइरहेको छ । पछिल्लो समय कर्णालीमा दिन–प्रतिदिन झुण्डिर आत्महत्या गर्नेहरुको ग्राफ बढ्दै गएको देखिन्छ । प्रदेश प्रहरी कार्यालयका अनुसार विगत पाँच वर्षको अवधिमा मात्र कर्णालीमा एक हजार ३६२ जनाले आत्महत्या गरेका छन् । ती मध्ये २८५ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ ।

    आत्महत्या गर्नेमध्ये १३३ जना बालबालिका छन् । विगत एक वर्षमा मात्रै ४७ जना बालबालिकाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा कर्णालीमा ३६२ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशमा गरिबीका कारण सिर्जित मानसिक समस्या रहेको प्रहरीको भनाइ छ ।

    कर्णालीमा झण्डै ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । यस्तै, महिलाहरुले घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । कर्णालीमा घरेलु हिंसा, महिला हिंसा, सामाजिक सञ्जालको दुरुपयोग र दीर्घरोगका कारण पनि आत्महत्या गरेको घटना पाइन्छ ।

    प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी पछिल्लो दुई आर्थिक वर्षमा कर्णालीमा कोरोना महामारीका कारण आत्महत्याका घटनामा वृद्धि भएको बताउँछन् । उनी भन्छन, ‘निराशापन, बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा पनि आत्महत्याका घटना वृद्धि हुँदै गएका छन् ।’

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology