रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको हो ।
४९औँ मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो । जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो । यता, एपिएफको भने लगातार दोस्रो हार हो ।
दुवै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १५औँ मिनेटमा च्यासलका कमल श्रेष्ठलाई मनबहादुर रानामगरले फाउल गरेपछि प्राप्त फ्रि किकमा कमलको प्रहार एपीएफका गोलकिपर राजु योगीले पञ्च गरी फ्याँकिदिए ।
१७औँ मिनेटमा १८ यार्ड भित्रबाट च्यासलका अजित गुरुङले गरेको प्रहारलाई गोलरक्षक योगीले फेरि विफल पारिदिए । ४०औँ मिनेटमा च्यासलका विकास मेराग्लियानको हेड एपीएफका राजन गुरुङले रोकेपछि रिबाउन्डमा सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले गोल लाइन नजिकबाट क्लियर गरिदिए ।
दोस्रो हाफको चौथो मिनेटमा नै च्यासलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा च्यासलका मउसाले गरेको प्रहार एपीएफका कप्तान टोपबहादुर विष्टबाट डिफ्लेक्ट हुँदै बल पोस्टको माथिल्लो जालीमा अट्किएको थियो । ६५औँ मिनेटमा च्यासलका केचाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
लिगको पहिलो खेलमा दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ ले तथा च्यासल थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।