बैंककबाट थप उपचारको लागि चीन लगिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।
गत शुक्रबार पुनको थप उपचारको लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको थियो । उपचार सुरु गरिएको चौथो दिनमा उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको हो ।
उनको उपचारमा ३ दजैनभन्दा बढी चिकित्सक र नर्सको टोली सटिएका छन् । पछिल्लो परिक्षणमा नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जन्डिस (विलरुविन)को मात्रा घटेर १८ मा झरेको छ । बैंककमा हुँदा विलरुविनको मात्रा २२ रहेको थियो ।
विलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरिर चिलाउने, निन्द्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निने जस्ता समस्या सुधार भएको छ ।
उपचारमा सहभागि चिकित्सकले नेता पुन अहिले खतरामुक्त रहेको जानकारी दिएका छन् । उनी केही समयमा निको भएर नेपाल फर्कन सक्ने बताइएको छ । उनले अहिले खान थालेका छन् ।
दिशामा जाने रगत पनि बन्द भएको छ । बोल्न समेत नसकेका उनले अहिले सबैसँग कुरा गर्न थालेका छन् । उनले अध्यक्ष प्रचण्डसँग पनि भिडियो कुराकानी गरेका छन् ।
उनी बैंककबाट चीन उड्दा ७२ केजी थिए र तर, अहिले उनको शरिर सुकेर ६७ केजीमा झरेका छन् ।
विलरुविनको मात्रा बढ्दा शरिर सुनिने गर्दछ । बंशाणुतग रूपमा रहेको जन्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए ।
नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।
यस अघि जन्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएपनि सन्चो भएको थियो ।