कालीगण्डकी करिडोर बागलुङ–कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध१च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट तल खस्दा दुई युवाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी जैमिनी नगरपालिका–१ भण्डारा बस्ने शिव केसीको छोरा १२ वर्षीय सुदिप केसी घाइते भएका छन् ।
केसीलाई उपचारको लागि पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिए । ट्याक्टरमा चालकसहित चार जना सवारी थिए ।
चालक बागलुङ नगरपालिका-१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ । शव भीरको अफ्ठ्यारो ठाउँमा अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको छ ।
इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ ।