Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भेडी गोठमा भेडा मर्न थालेसँगै किसानहरु चिन्तित

भेडी गोठमा भेडा मर्न थालेसँगै किसानहरु चिन्तित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७८ सोमवार • १९:३९:०२ बजे
  • 715
    SHARES
  • भेडी गोठमा भेडा मर्न थालेसँगै किसानहरु चिन्तित

    भेडी गोठमा गत दुई हप्तादेखि भेडा मर्न थालेसँगै किसान चिन्तामा परेका छन् ।

    images

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवास्थित भेडी गोठमा भेडा मर्न थालेसँगै किसानहरु चिन्तित भएका हुन् ।

    संयुक्त रुपमा भेडा गोठ पाल्दै आएका सिदिङवा गाउँपालिकाका टोपबहादुर बुढाक्षेत्री, सादेवाका हिमकुमार राई र सीताराम खड्काको गोठमा रहेका भेडा धमाधम मर्न थालेको सिदिङवा गाउँपालिकाका प्रवक्ता कैलास राईले जानकारी दिए । दुई सातामा करीब ४५ वटा भेडा अज्ञात रोगले मरिसकेका राईले बताए ।

    भेडाले दुई/तीन दिनसम्म घाँस नखाने र त्यसपछि झोक्राएर मर्ने गरेको भेडी गोडालोहरुको भनाइ रहेको छ । अज्ञात रोगले मरेका भेडामध्ये धेरै गर्भधारण गरेका र बच्चा जन्माउने समय पुगेका माउ भेडा रहेको प्रवत्ता राईले बताए ।

    उनकाअनुसार अज्ञात रोगले भेडा मर्ने क्रम जारी रहेको छ भने गर्भधारण गरेका अधिकांश माउ भेडाको गर्भ खेर गएको (तुहिएको) हो । करिब चारसयको संख्यामा रहेको गोठमा अज्ञात रोग फैलिएर भेडा मर्न थालेपछि भेडापालक किसानले ठूलो नोक्सानी व्यहोरेका छन् ।

    गोठपालक किसान टोपबहादुर बुढाक्षेत्रीले भेडामा सास फेर्न कठिन भएजस्तो देखिने, घाँस (खुराक) नखानेजस्ता लक्षण रहेको बताए । उक्त लक्षण देखिएको दुईदेखि चार दिनभित्र भेडा मर्ने र गर्भधारण गरेका माउ भेडाले बच्चा तुहाउने गरेको उनले बताए ।

    त्यस्तै किसान हिमकुमार राईले अज्ञात रोग सुरु भएसँगै भेडा मर्ने क्रम नरोकिए गोठनै सखाप हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे । जाडो मौसम सुरु भएपछि चिसो छल्नलाई हिमाली चरन क्षेत्रबाट भेडा गोठ अहिले बेसीमा झारिएको महिना दिनपछि यस्तो रोग देखिएको राइले बताए ।

    अज्ञात रोग देखिएपछि गाउँमा उपलब्ध पशुविज्ञलाई जचाउँदा रोग पहिचान हुन नसकेको उनले बताए । सिदिङ्वा गाउँपालिका पशु सेवा शाखाले समस्या समाधानको पहल भइरहेको जनाएको छ ।

    शाखा प्रमुख एञ्जलबाबु कार्कीका अनुसार गाउँपालिकाको पशु शाखासँग उपलब्ध स्रोत साधनको उपयोगबाट समस्या समाधानको पहल भए पनि हालसम्म रोगको पहिचान भने हुन सकेको छैन ।

    रोग पहिचान नभएपछि मरेको भेडाको नमुना (रगत) सङ्कलन गरेर ल्याव परीक्षणका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

    प्रदेश सरकारमार्फत नमूना सङ्कलन गर्ने किट माग गरिएको र बुधबार सम्ममा नमूना सङ्कलन गरी परीक्षण गर्न प्रदेश प्रयोगशाला विराटनगर पठाइने कार्कीले जानकारी दिए । यो रोगले भेडा मर्नेको तुलनामा गर्भ तुहिने समस्या बढी देखिएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # किसानहरु चिन्तित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology