Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज उधौली पर्व मनाइँदै

आज उधौली पर्व मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • ०८:२५:२४ बजे
  • 835
    SHARES
  • आज उधौली पर्व मनाइँदै

    प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको ठूलो चाड उधौली पर्व मनाइँदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउन गर्दछन् ।

    images

    घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृतिपूजक किरात राईले मंसिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गरेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् ।

    आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।

    किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् ।

    बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ । भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ ।

    किरातको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किरात चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् ।

    पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किरात तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् ।

    तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ । वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताए ।

    उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किरातले मनाउँछन् ।

  • सम्बन्धित विषय:

  • # उधौली पर्व मनाइँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology