कर्तव्य निर्वाहका क्रममा सडक दुर्घटनामा परि मृत्यु भएका वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारु र प्रहरी जवान चन्द्र बहादुर बगालेको पार्थिव शरिरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राङ्गणमा शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उहाँहरुको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका हुन । सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
साथै प्रहरी नायव महानिरीक्षक अर्यालले दुबै जना मृत प्रहरी कर्मचारीका परिवारजनहरुसंग भेटघाट पनि गरेका छन । अर्यालले समवेदना प्रकट गर्नुका साथै ईमान्दार, कर्त्वयनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको महसुस गरेको बताए ।
उक्त श्रदाञ्जली कार्यक्रममा संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के।सी।, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यही मिति २०७७।०५।०३ गते अन्दाजी ०१:०५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-५ मालेपाटन स्थित विश्वास पेट्रोलपम्प अगाडी बाग्लुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट १२:०० बजे देखि ०६:०० बजे सम्मको मोटरसाईकल गस्ती डिउटीमा ग १ ब ३६९ नं।को मोटरसाईकमा सवार उहाँहरुलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं।को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा गम्भिर घाइते भई दुबै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
बर्दिया जिल्लाको बढैयाताल -६ घर हुनुभएका ३४ वर्षिय प्रहरी हवल्दार डम्बर बहादुर थारू मिति २०६२।०३।०८ गते नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदबाट सेवा प्रवेश गर्नुभएका उहाँ दंगा नियन्त्रण प्रहरी गण तनहुँ दरवन्दी भई मिति २०७६।०३।०९ गते देखी वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थिए भने पाल्पा जिल्लाको रिप्दिकोट गाउँपालिका-८ घर हुनुभएका प्रहरी जवान चन्द्र बहादुर बगाले मिति २०७६।०४।०१ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरीए दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं। २ दरवन्दी भई मिति २०७७।०४।२० गते देखी वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थिए ।
आश बहादुर गुरुङ्ग
आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।