भाद्र १२, २०७७ शुक्रवार
•
०९:०५:११ बजे
शुक्रबार बिहान बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना एक महिला एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्ध र बेलबारी – ५ मोरङ घर भएकी ५६ वर्षीया महिला रहेका छन्।
प्रवक्ता डा। निदेश सापकोटाका अनुसार विराटनगरस्थित कोशी अस्पतालबाट भदौ ९ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएकी महिलाको मृत्यु भएको हो । उनमा गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।कोभिड संक्रमण पुष्टि भएसँगै उपचारका लागि भर्ना गरिएकी महिलाको शुक्रबार विहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए।
प्रवक्ता सापकोटाका अनुसार कोशीबाट रिफर गर्ने क्रममा बिरामीमा अत्यधिक खोकी, स्वासप्रस्वासमा समस्या, ज्वरो देखिएको थियो।
त्यसैगरि, झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्धको उपचारका क्रममा विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार झापाको बीएण्डसी अस्पतालबाट अत्याधिक खोकी, स्वासप्रस्वासमा समस्या र ज्वरोसँगै अस्पताल आएका उनमा कोभिड संक्रमण पुष्टि भएपछि भदौ ३ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।
बिरामीमा मिर्गाैलाको समस्या र डाइलाइसेस गर्नु परेको र उच्च रक्तचाप, मधुमेह, अल्प रक्तकोषिकाको समस्या रहेको डा। सापकोटाले जानकारी दिए।
यससँगै प्रदेश १मा कोभिड संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ। प्रदेश १ बाट २० जना र उपचारका लागि आएका प्रदेश २ का ७ जनाको मृत्यु भएको हो।