गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर १४ गते स्वाव परीक्षणका लागि दिएका सदस्यको बुधबार बेलुका नतिजा पोजिटिभ आएको हो ।
उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । बुधाबार राति कोरोना पुष्टि भएका गण्डकी प्रदेश सभाका सांसदले नेपाल प्रहरीको सशस्त्र प्रहरी गणभित्र त्यहाँका प्रमुखसँग खाना खाएका थिए ।
उक्त गणबाट स्याङ्जामा खटिएका प्रहरीमा कोरोनाका पुष्टि भएको थियो ।उनीहरु फर्केर आएपछि गणकै अरु प्रहरीमा पनि एकपछि अर्कोमा कोरोना पुष्टि भएको छ । त्यहाँका प्रहरीमा धमाधम कोरोना पुष्टि भएपछि ती सांसदले शंकाका आधारमा स्वाब परीक्षण गराएका थिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले उनी होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेको बताए । उच्च रक्तचापको नियमित औषधी खाने गरेका ती सांसदमा स्वासप्रश्वास समस्या पहिलेदेखि नै रहेको पनी उनले बताए ।
उनी बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेट भएका थिए । मुख्यमन्त्रीसँग भेट गर्न उनी बुधबारै पुगेको भए पनि व्यस्तताका कारण समय मिलेको थिएन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा। शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको बताए । उनले भने, ‘आज बिहानभर हामीले योजना बनाएका छौं, पहिला सम्पर्कमा रहेकाहरुको सूची तयार हुन्छ, त्यसछि काम थाल्छौं ।’
आश बहादुर गुरुङ्ग
आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।